‘मिसेस नेपाल वल्र्ड २०२५’ विजेतालाई पुरस्कार वितरण

...

काठमाडौँ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरूलाई राजधानीमा आयोजित विशेष समारोहबीच पुरस्कार, उपहार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतामध्ये रक्षा पन्तलाई तपाईंको बजारको प्रायोजनमा इलेक्ट्रिक स्कुटर प्रदान गरिएको हो। समारोह पानीपोखरीस्थित तपाईंको बजार शोरुम परिसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा ख्यातिप्राप्त हास्यव्यंग्यकार तथा कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। साथै तपाईंको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौला, प्रमुख कार्यकारी अधिकृत माया लामा, अभिनेता सरोज खनाल र धिरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झा तथा कोरियोग्राफर अश्विनीकान्त झालगायतले विजेता रक्षा पन्तलाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।

सोही अवसरमा मिसेस नेपाल वल्र्ड २०२५ का अन्य विजेताहरूलाई पनि आयोजक संस्थाको तर्फबाट विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगिताका प्रायोजक, सहयोगी तथा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले महिलालाई प्रेरित गर्ने यस्ता कार्यक्रम सकारात्मक र स्वागतयोग्य कदम भएको बताए। तपाईंको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभाशाली महिलालाई सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको उल्लेख गरे। त्यस्तै प्रमुख कार्यकारी अधिकृत माया लामाले आत्मनिर्भर महिलालाई प्रोत्साहन गर्नु संस्थाको सामाजिक दायित्व भएको बताइन्।

कार्यक्रममा सहभागीहरूले विजेताहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै, इलेक्ट्रिक सवारी प्रवर्द्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहल अत्यन्त प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।