काठमाडौं — फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’ को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ। करिब एक मिनेट लामो टिजर शीर्ष नायिका रोशनी कार्कीको पात्रलाई केन्द्रमा राखेर तयार गरिएको छ।
तीन हजार यौनकर्मीको अनुभव र उनीहरूले भोग्ने समस्या कथामा आधारित यस फिल्मको टिजरमा रोशनीसँगै नायिकाहरू सुष्मा निरौला र उषा रजक तथा अभिनेता जीवन भट्टराई देखिएका छन्। टिजरमा समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको दृश्य प्रस्तुत गरिएको छ।
टिजरमा कलाकार शिशिर वाङ्देल र सबिन कट्टेलको पनि उपस्थिति छ। यौनकर्मीको भूमिकामा देखिएकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। टिजरको सुरुवातमा शहरभित्र संघर्षरत पात्रका रूपमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुसँगै शहर बाहिर पुगेको दृश्य देखाइन्छ, जसले उनको जीवनको उतार–चढाव र यौनकर्मीहरूको जटिल यथार्थ झल्काउने संकेत गर्छ।
फागुन २९ बाट प्रदर्शनमा आउने यस फिल्मका लेखक तथा निर्देशक रोशन मिराज हुन्। फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने वितरणको जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले लिएको छ।







१० फाल्गुन २०८२, आईतवार १८:०० 











