काठमाडौं – यौनकर्मीप्रतिको समाजको दृष्टिकोण र उनीहरूको वास्तविक जीवनबीचको गहिरो खाडल उजागर गर्ने कथामा आधारित फिल्म लालिमा फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ। लामो समयदेखि यौनकर्मीसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको अनुभवलाई कथामा रूपान्तरण गर्दै तयार गरिएको यो फिल्मले बाध्यता, पीडा, डर र समाजबाट पाउने व्यवहारबीचको संघर्षलाई केन्द्रमा राखेको निर्माण पक्षको भनाइ छ।
हात्तिसारमा आयोजित पत्रकार भेटघाटमा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरू परिचय खुल्ने डरका कारण डकुमेन्ट्रीमा देखिन नचाहेपछि उनीहरूको वास्तविक कथा कलाकारमार्फत प्रस्तुत गर्ने निर्णय गरिएको बताए। उनका अनुसार फिल्मले यौनकर्मीहरू किन यो पेशामा आउन बाध्य हुन्छन्, उनीहरूले भोग्ने मानसिक, सामाजिक र पारिवारिक पीडालाई संवेदनशील ढंगले प्रस्तुत गर्नेछ।
फिल्ममा मुख्य भूमिकामा रोश्नी कार्की र उषा रजक देखिँदैछन्। रोश्नी कार्कीले समाजले यौनकर्मीलाई मानवकै रूपमा स्वीकार नगरेको यथार्थलाई फिल्ममार्फत आवाज दिन पाउनु आफ्नो लागि महत्वपूर्ण रहेको बताइन्। फेथ आस्थाको प्रस्तुतिमा बनेको यो फिल्ममा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल पनि मुख्य भूमिकामा छन्।
कार्यकारी निर्माता रीना लामा रहेको फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ।







१७ फाल्गुन २०८२, आईतवार ०८:२८ 











