काठमाडौं – चैत १९ देखि २३ गतेसम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करणको तयारी तीव्र बनाइएको छ। निफ हाल ‘प्री–इभेन्ट’ चरणमा प्रवेश गर्दै फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूसँग अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसैक्रममा नक्सालस्थित कान्तिपुर थिएटरमा ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तर्क्रिया सम्पन्न भएको छ। निफका अध्यक्ष केपी पाठकका अनुसार नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले भोग्दै आएका अपमान, अविश्वास र संरचनागत समस्याबारे बहस सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
अन्तर्क्रियामा सहभागी निर्देशकहरूले महिला भएकै कारण कामको सम्मान नपाउने, सिर्जनात्मक क्षमतामाथि शंका गरिने तथा बजार, लगानीकर्ता र प्रायोजकको पहुँचमा कठिनाइ हुने यथार्थ सार्वजनिक गरे। निफले आगामी दिनमा लेखकहरूलाई लक्षित गर्दै ‘निफ फिचर पिच’ तथा युवालाई केन्द्रमा राखेर ‘फ्रेम योर फ्युचर’ प्रतियोगितासमेत आयोजना गर्ने जनाएको छ।







१७ फाल्गुन २०८२, आईतवार ०८:३३ 











