लोकप्रिय बन्दै राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत

...

काठमाडौँ । अहिले सामाजिक सन्जालमा धागोले बाटेको बोलको गीत चर्चामा छ । उक्त गीत आगामी चैतको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’मा समावेश छ । यो गीत रिलिज भएको १३ दिन भयो । सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र सामाजिक संजालमा माया पाएको छ ।

निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा पनि यो गीतले भने आफ्नो रफ्तारलाई कायम राखिरहेको छ । यो गीतलाई सार्वजनिक भएको २ साता नवित्दै युट्युबमा हेर्नेको संख्या २१ लाख पुगेको छ । दर्शकले यो गीतमा लाख भन्दा बढी टिकटक बनाइसकेका छन् । जसकाकारण, फिल्मको व्यापारमा यो गीतले निकै फाइदा दिने देखिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो गीतको टिजर केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।

गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिए । उनले भने–‘निर्वाचनको छेकोमा हामीले गीत सार्वजनिक गर्दा धेरैले गलत समयमा किन रिलिज गर्नुभयो भनेका थिए । तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं । आज दर्शकको मुखमा गीत झुन्डिएको छ । लाखौं टिकटक बनेका छन् । यसले, हामीलाई उत्साहित बनाएको छ ।’
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत फिल्ममा छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । फिल्मका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।

यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।