काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरले छमछमी नाचेका छन्। लोकलयमा आधारित यस गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ।
श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएको यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ भने एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। गीतको कोरियोग्राफी मिङ्मा डि लेप्चाले गरेका छन्। ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको यो फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् भने लगानी जनक घर्ती मगरले गरेका छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतको अभिनय रहनेछ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको सम्पादन लोकेश बज्राचार्य र छायांकन शिशिर बिशंखेले गरेका हुन्। आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।




८ चैत्र २०८२, आईतवार १३:१० 











