काठमाडौं । गएको बर्ष अभिनेता पल शाह ‘महाराजधिराज’मा हुने भनियो । पछि पल शाहलाई अर्को फिल्ममा समय दिनेभएपछि यो फिल्ममा समय दिन सकेनन् । त्यसपछि पलको ठाउँमा कुन अभिनेता आउलान् भन्ने प्रश्न आयो । अहिले आएर अभिनेता पुष्प खड्कालाई निर्माण टिमले अनुबन्धित गरेको छ ।
निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको विशेष पोस्टर समेत सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ ।
सार्वजनिक तस्बिरमध्ये एउटामा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन् । उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन लगाएका छन्, जसले उनी चलचित्रमा राजाको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ । तर, अर्को तस्बिरमा भने उनी पूर्ण नग्न र शारीरिक रूपमा अत्यन्तै दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन् । एक ‘भिन्जेट’ कुर्सीमा बसेका ती कमजोर पात्रको पछाडि राजाको पोसाकमा सजिएका पुष्प उभिएका छन् । यी दुई अवतारले चलचित्रको कथावस्तु निकै गहिरो र प्रतिकात्मक रहेको बुझ्न सकिन्छ ।
निर्माण पक्षले पोस्टरका साथमा एउटा अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’
पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका थिए । सामान्यतया कलाकारहरूले कागजमा हस्ताक्षर गरेर चलचित्र साइन गर्ने चलन छ ।
पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन् । उनले यो चलचित्रको निर्माण अवधिभर अन्य कुनै पनि चलचित्र, म्युजिक भिडियो मात्र होइन, टिकटक, इन्स्टाग्राम र युट्युब भिडियो जस्ता कुनै पनि दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन् ।
‘महाराजधिराज’को पोस्टरले थ्रिलर वा ुपिरियड ड्रामाको झल्को दिएको छ । यसको कलर ग्रेडिङ, कम्पोजिसन र थिमले दर्शकमा चलचित्रप्रति उच्च अपेक्षा जगाएको छ ।
यही बैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको लाइनअप निर्देशक सेनले निकै बलियो बनाएका छन् ।
चलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले नयाँ र अग्रज गर्दै अभिनयमा अब्बल कलाकार आफूहरूको पहिलो रोजाइमा परेको बताए । कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।
यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।




१ बैशाख २०८३, मंगलवार १३:०० 










