बिम्पी पराजुलीको ‘दिल भित्र’ गीत दर्शकको दिलमा बस्दै

...

काठमाडौँ । गायिका बिम्पी पराजुलीको सार्वजनिक ‘दिल भित्र’ बोलको गीत दर्शक तथा स्रोतामाझ बिस्तारै लोकप्रिय बन्दै गएको छ । युट्युवमा सार्वजनिक दुईसाता पुग्दैगर्दा यो गीतमा आएका प्रतिक्रियाहरु सकारात्मक छन् । लाखौं र मिलियन भ्युज नगएपनि जतिले हेरेका र सुनेका छन्, अधिकांशले सकारात्मक प्रतिक्रिया दिएको देखिन्छ ।
गीतमा बिम्पीको स्वर छ भने शब्द बिजय शिवकोटीले लेखेका छन् । साथै गीतमा हरि लम्सालको संगीत छ ।

गीतको भिडियो रोशन पुरीले निर्देशन गरेका हुन् । भिडियोमा बिना राउत र राष्ट्रबाबु तामाङको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन र सम्पादनको काम रन्धिर श्रेष्ठले गरेका छन् । कोरियोग्राफी बिशाल कैनीको छ ।
आफ्नो गीतको बिषयमा गायिका बिम्पीले खुसी ब्यक्त गरेकी छिन् । आफूले पहिलोपटक यसरी अफिसियल गीत सार्वजनिक गरेको र पहिलोगीतबाटै निकै राम्रो प्रतिक्रिया आएकोमा खुसी छिन् । नेपालको ईलाममा जन्मिएकी गायिका बिम्पी विगत १३ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात सिलिकन भ्यालीमा बस्दै आएकी छिन् । प्रवासमा रहे पनि उनले आफ्नो नेपाली पहिचान, संस्कार र संगीतप्रतिको लगावलाई निरन्तर जोगाउँदै आएकी छन्। सिलिकन भ्यालीको विविध सांस्कृतिक परिवेशले उनको दृष्टिकोणलाई फराकिलो बनाएको छ, जसले उनको कला र अभिव्यक्तिलाई अझ समृद्ध बनाएको छ ।

गायिका बिम्पीका अनुसार उनमा सानै उमेरदेखि नै संगीतप्रतिको मोह थियो । उनी विद्यालयका साना–ठूला कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन् । उनी प्रत्येक कार्यक्रममा उत्साहका साथ प्रस्तुति दिने गर्थिन्, जसले उनको आत्मविश्वास बढाउनुका साथै दर्शकसँगको सम्बन्धलाई अझ मजबुत बनायो । बिम्पीले आफ्नो दोस्रो गीतको रुपमा छिट्टै अर्को गीत ल्याउने बताएकी छिन् ।