काठमाडौँ । लोकप्रिय लोक गायक पशुपति शर्माले फिल्ममा अभिनय गर्ने भएका छन् । पशुपतिलाई निर्देशक अमरदीप सापकोटाले आफ्नो नयाँ फिल्ममा मुख्य अभिनेताको रुपमा अनुबन्ध गरेका हुन् । अमरदीप यसअघि कारखाना फिल्म बनाइसकेका निर्देशक हुन् ।
फिल्म कमेडि जनरामा निर्माण हुनेछ भने फिल्मको नाम खुलाइएको छ । आर्टिष्ट खबरलाई प्राप्त जानकारी अनुसार फिल्ममा पशुपतिसँगै अन्य दुई मुख्य अभिनेता हुनेछन् र तीन अभिनेताको कथा बग्नेछ । पशुपति फिल्ममा काम गर्न सुरुमा इच्छुक थिएनन्, तर निर्माण टिमको अथक प्रयास पछि पशुपति तयार भएका हुन् । ‘गीतसंगीतमै रमाएर हिडेको मान्छे, फिल्म मेरो लागी नयाँ हो, त्यसैले गर्ने कि नाई भन्ने सोचेको थिएँ तर निर्माण टिमले विश्वास दिलाएपछि काम गर्न इच्छुक भएको हुँ’, पशुपतिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । ‘मैले मेरो तर्फबाट गर्नुपर्ने पुर्ण मिहिनत गर्नेछु ।’

फिल्म रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । फिल्मको निर्माता रघुनाथ सापकोटा हुन् । निर्माता सापकोटाका अनुसार अन्य कलाकारलाई केहिसमय पछि अनुबन्ध गर्दै जाने र आगामी भदौमा छायांकनमा जाने तयारी भइरहेको छ ।
गायक पशुपतिले यसअघि केहि फिल्ममा स्वर दिएका थिए अभिनय भने उनको यो पहिलोपटक हुनेछ । त्यसैले पनि उनी आफै उत्साहित छन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निकै लोकप्रिय गायक पशुपति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष समेत हुन् । उनी आगामी निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी समेत गरेका छन् ।





२० जेष्ठ २०८३, बुधबार १७:४३ 










