दरबार रोधीको १८औँ वार्षिकोत्सव : तीन दिन लोकसंगीत

...

काठमाडौँ दरबारमार्गस्थित दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सव तीनदिने विशेष सांगीतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। जेठ २९ गतेदेखि आयोजित उत्सवमा नेपाली लोकसंगीतका चर्चित कलाकारहरूको प्रस्तुति, लाइभ दोहोरी तथा सामाजिक सेवाका गतिविधिले विशेष आकर्षण थपेका थिए।

उत्सवको पहिलो दिन वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत, गायक राजु परियार, श्याम राना र गायिका दीपिका बयम्बुको प्रस्तुति रहेको थियो। प्रेमराजा महतलेमाया भेटियो बन्दीपुरैमा’, राजु परियारलेमिर्मिरेको घाम’, श्याम रानालेरेलै सललतथा दीपिका बयम्बुलेमायालाई के दिउँ म बैनाप्रस्तुत गर्दा दर्शकहरू रमाएका थिए। लोकदोहोरी प्रस्तोता कृष्ण कँडेलले लाइभ दोहोरीमार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए।

वार्षिकोत्सवको दोस्रो दिन गायिका प्रीति आले र गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति केन्द्रमा रह्यो। प्रीति आलेकोबामरी बामरीर कुलेन्द्र विश्वकर्माकोसालको पातको टपरीगीतमा दर्शकले उत्साहजनक साथ दिएका थिए।

कार्यक्रमको अन्तिम दिन गायक विश्व दोङ मुख्य आकर्षण बने। उनले आफ्नो चर्चित तामाङ सेलोमाया भन्दा ठूलो जात होइनप्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

durbar rodhi club

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगार्थ ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको केही हिस्सा यस्ता कलाकारहरूको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

मायालु कम्प्लेक्स, दरबारमार्गमा आयोजित कार्यक्रममा प्रेमराजा महत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथि रहेकी थिइन्। नेपाल लोक दोहोरी व्यावसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यावसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यावसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यावसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वार्षिकोत्सवमा आमन्त्रित कलाकारहरूलाई परम्परागत नौमती बाजासहित स्वागत गरिएको थियो भने केक काटेर स्थापना दिवस मनाइएको थियो। कार्यक्रमको सञ्चालन कृष्ण आँसुले गरेका थिए।

नेपाली लोकगीतसंगीतको प्रवर्द्धन, संरक्षण र नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले स्थापना भएको दरबार रोधी क्लबले विगत १८ वर्षमा धेरै कलाकारलाई व्यावसायिक मञ्च उपलब्ध गराउँदै आएको छ। यस वर्षको वार्षिकोत्सवले मनोरञ्जनसँगै कलाकारप्रतिको सामाजिक दायित्वलाई समेत सशक्त रूपमा प्रस्तुत गरेको आयोजकको भनाइ छ।