हरिवंश भन्छन्ः दयाहाङ राईसँग काम गर्ने चाहना पुरा भयो

...

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले पहिलोपटक अभिनेता दयाहाङ राईसँग एउटै चलचित्रमा काम गर्ने आफ्नो लामो समयदेखिको चाहना सार्वजनिक गरेका छन्।

शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित क्रिटिक्स फिल्म अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गरेपछि मन्तव्य दिने क्रममा हरिवंशले आफूले दयाहाङसँग एउटै स्क्रिनमा काम गर्ने इच्छा धेरैअघि देखिनै राखेको बताए।

चलचित्र भुठानबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हरिवंशले भने, ‘मलाई दयाहाङ राईसँग एउटै स्क्रिनमा काम गर्ने निकै ठूलो चाहना थियो। अहिलेका चर्चित अभिनेता दयाहाङसँग काम गर्ने अवसर भुठानले जुराइदियो।’ भुठानमा उनीहरुले सानो दृश्यमा एकसाथ सेयर गरेका थिए ।

हरिवंशले मन्तव्य दिँदै गर्दा दयाहाङ पनि कार्यक्रमस्थलमै उपस्थित थिए। उनको यो अभिव्यक्तिपछि हलमा उपस्थित कलाकार तथा दर्शकहरू केहीबेर आश्चर्यमा परेका थिए। कार्यक्रममा मह जोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंशसँगै स्वस्तिमा खड्का, निश्चल बस्नेत, दयाहाङ राई, बुद्धि तामाङ, आना शर्मा, सन्चिता लुईँटेललगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

हरिवंशको अभिव्यक्तिलाई धेरैले कलाकारिताप्रतिको विनम्रता र सहकर्मीप्रतिको सम्मानको उदाहरणका रूपमा व्याख्या गरेका छन्। आफूभन्दा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेतासँग काम गर्ने चाहना खुलेर व्यक्त गरेको उनको भनाइले कार्यक्रममै सकारात्मक चर्चा पाएको थियो।