रायन बस्यालको नयाँगीत ‘मदन झैं मुनालाई’ सार्वजनिक, प्रताप दास–सुस्मा लोहनीको स्वर

...

काठमाडौं । मौलिक लोकशैलीका गीतमार्फत छोटो समयमै दर्शक–श्रोतामाझ छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक रायन बस्यालले नयाँ गीत ‘मदन झैं मुनालाई’ सार्वजनिक गरेका छन्।

‘घामपानीको छाता’ र ‘घामको झुल्को’ जस्ता लोकप्रिय गीतमार्फत चर्चा बटुलेका रायनले यसपटक भने आफ्नै गीतमा स्वर दिएका छैनन्। उनले सिर्जना गरेको नयाँ गीतमा चर्चित गायक प्रताप दास र गायिका सुस्मा लोहनीको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा रायन बस्याल, सुस्मा लोहनी र सन्जना गुरुङको अभिनय रहेको छ। गीतकी प्रस्तुतकर्ता पनि सुस्मा लोहनी नै हुन्। सार्वजनिक भिडियो सुस्मा लोहनीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

गीतको शब्द तथा लय रायन बस्यालकै रहेको छ भने संगीत संयोजन र मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन्। भिडियोको छायांकन बुद्ध थापा र उनको टोलीले गरेको हो। कोरियोग्राफी सन्जय विश्वकर्माको रहेको भिडियो सुजन कोइरालाले सम्पादन गरेका हुन् । भिडियोको कथा तथा निर्देशन स्वयं रायन बस्यालले गरेका हुन्।

केही दिनअघि काठमाडौंको ठमेलस्थित गामबेसी रोधीघरमा आयोजित विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको थियो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमसहित विभिन्न स्रष्टा तथा कलाकारहरूले गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए।

युवा पुस्ताका सर्जक भए पनि लोकसंस्कृति र मौलिकतालाई प्राथमिकतामा राख्दै आएका रायन बस्यालले यसपटक फरक स्वर संयोजनमार्फत ‘मदन झैं मुनालाई’ श्रोतामाझ ल्याएका छन्। नयाँ गीतले पनि उनका अघिल्ला सिर्जनाजस्तै दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।