काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने निर्देशक माओत्से गुरुङको चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। गुरुङ समुदायको मौलिक संस्कृति, प्रेम र जीवनभर साथ निभाउने प्रतिबद्धतालाई समेटिएको गीतमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय देख्न सकिन्छ।
हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको गीतले चलचित्रको ग्रामीण परिवेश र भावनात्मक कथावस्तुको झल्को पनि दिन्छ। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनाको कथा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण टिमका अनुसार चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत उत्साहजनक रूपमा विभिन्न मुलुकमा बिक्री भइसकेको छ। हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिएका छन्।





२ श्रावण २०८३, शनिबार ०९:५७ 








