इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, बेलायतको आयोजक टोली काठमाडौं आइपुग्यो

...

काठमाडौं । काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ ।

अवार्ड समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक इन्फा ईभेन्ट्स युकेको टोली बूधवार साँझ काठमाडौं आइपुगेको छ ।

काठमाडौं विमानस्थलमा आयोजक टोलीलाई इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले आत्मीय स्वागत गरेका छन् । टोलीको आगमनसँगै अवार्ड समारोहको तयारीले थप तीव्रता पाएको आयोजकले जनाएको छ ।

बेलायतबाट काठमाडौं आइपुगेको इन्फा अन्तर्राष्ट्रिय टोलीमा अध्यक्ष उमेशराज मोक्तान, बोर्ड निर्देशकहरु टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल रहेका छन् । उनीहरूले आगामी केही दिन नेपालमै बसेर समारोहको समग्र व्यवस्थापन, अतिथि समन्वय, प्राविधिक तयारी तथा कार्यक्रम सञ्चालनसँग सम्बन्धित विभिन्न कामलाई अन्तिम रूप दिनेछन् ।

काठमाडौं मै रहेका इम्फा इभेन्ट, यूकेका बोर्ड निर्देशक पाल्देन लामा तथा नेपालतर्फको आयोजक टोलीको नेतृत्व गरिरहेका अध्यक्ष सुनील श्रेष्ठसहितको समुहले बेलायतबाट आएको‌ टोलीलाई स्वागत गरेको हो ।

इन्फा अवार्ड नेपालका अध्यक्ष सुनील श्रेष्ठको नेतृत्वमा बोर्ड सदस्य मनिष कार्की र मनोज केसी सहितको टोलीले लामो समयदेखि अवार्डको व्यवस्थापन, कलाकार समन्वय, मञ्च निर्माण, प्राविधिक तयारी तथा अन्य आवश्यक कार्यलाई निरन्तर अघि बढाइरहेको छ ।

यस वर्षको इन्फा अवार्डलाई भव्य र व्यवस्थित बनाउन बेलायत र नेपालका अनुभवी फिल्मकर्मी तथा आयोजकहरूको संयुक्त टोली सक्रिय रूपमा खटिएको छ । अन्तर्राष्ट्रिय अनुभव र स्थानीय व्यवस्थापनको समन्वयले यस संस्करणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार अवार्ड समारोहका लागि स्वदेश तथा विदेशबाट कलाकार, चलचित्रकर्मी, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने छ। रेड कार्पेट, सांगीतिक प्रस्तुति, विशेष सम्मान र विभिन्न विधामा उत्कृष्ट स्रष्टालाई अवार्ड प्रदान गरिने कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको इन्फा अवार्ड नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय समारोहका रूपमा स्थापित हुँदै गएको छ। आयोजकले यस वर्षको समारोह विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित र स्मरणीय हुने विश्वास व्यक्त गरेको छ।