महानायक राजेश हमाल बने प्रेसिडेन्ट, ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा

...

काठमाडौं । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टको निर्माणमा बन्ने कार्यक्रमको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।

कार्यक्रममा महानायक राजेश हमाल ‘लिग प्रेसिडेन्ट’को भूमिकामा रहनेछन्। त्यस्तै विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्। ‘सुपर कमेडी लिग’मा समूहगत रूपमा प्रतिस्पर्धा हुनेछ। अडिसनबाट छनोट भएका ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा आठ जना रहनेछन् र चारै समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन्।

कार्यक्रमका लागि पाँच शहरमा अडिसन आयोजना गरिने भएको छ। साउन २९ गते दमकको कदम थिएटर, साउन ३१ गते नारायणगढको राइनो वाटर होटल, भदौ २ गते नेपालगन्जको सिद्धार्थ होटल, भदौ ४ गते पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन हुनेछ।

अडिसनमा सहभागी हुन नसक्ने तथा नेपालबाहिर रहेका नेपाली भाषी प्रतिभाले पनि डिजिटल माध्यमबाट सहभागी हुन सक्नेछन्। त्यसका लागि आफ्नो प्रस्तुति भिडियो [email protected] मा पठाउन सकिनेछ।

यो शोको विशेषता समूहमा आधारित कमेडी एक्ट हुनेछ। एउटा स्क्रिप्टमा कम्तीमा दुई जना प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। स्केच, स्किट तथा ड्रामेडी (ड्रामा + कमेडी) लगायतका शैलीमा पूर्वनिर्धारित विषय र थिममा आधारित प्रस्तुति तयार गरिनेछ।

निर्देशक एलिन श्रेष्ठका अनुसार कार्यक्रमको उद्देश्य केवल कमेडियन खोज्नु नभई कमेडी एक्टमार्फत उत्कृष्ट अभिनय गर्न सक्ने कलाकारको खोजी गर्नु पनि हो। प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिने लक्ष्यसहित कार्यक्रम निर्माण गर्न लागिएको उनले बताए।

दुई दशकभन्दा लामो समयदेखि नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा सक्रिय एलिन श्रेष्ठले नेपाल आइडल, सारेगमप लिटिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्सलगायतका विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शो निर्देशन गरिसकेका छन्।

निर्देशक श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। कार्यक्रमको नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुनेछ। यसको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट गरिनेछ भने डिजिटल प्रसारण ओएसआर डिजिटलमार्फत हुनेछ। कार्यक्रमका पर्दापछाडिका सामग्री सारङ्गी मिडियामार्फत प्रसारण गरिने निर्माण पक्षले जनाएको छ।

विशुद्ध पारिवारिक मनोरञ्जनमा आधारित ‘सुपर कमेडी लिग’ले नेपाली दर्शकलाई कमेडी प्रस्तुतिको नयाँ शैलीसँग जोड्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।