‘पार्वती’को चार मिनेट लामो ट्रेलर सार्वजनिक, नीता र अशोकको दिदीभाइको सम्बन्धले भावुक बनाउने

...

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रपार्वतीको चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाइको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको छ । विशेषगरी अटिजम भएकी दिदी र भाइबीचको प्रेम, संघर्ष र भावनात्मक सम्बन्धले ट्रेलरलाई मार्मिक बनाएको छ ।

ट्रेलरमा नीताले अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी छन् । उनलाई बुवाले विद्यालय भर्ना गरेपछि समाजमा उनले भोग्नुपरेको अपहेलना, जिस्क्याउने प्रवृत्ति तथा त्यसबाट उत्पन्न हुने समस्यालाई पनि ट्रेलरमा देखाइएको छ । यस्तै, दिदीप्रति भाइले देखाउने माया र संरक्षणको भावनाले कथालाई थप भावुक बनाएको छ ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको चलचित्रको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

चलचित्रका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन् । चलचित्रको सम्पादन तथा टिजर र ट्रेलरको काम साहिल खानले गरेका छन् । पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् । चलचित्रलाई एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यसअघि चलचित्रकानौ तुनाको रेलदिदीभाइबोलका गीत सार्वजनिक भइसकेका छन् । गीतमा बाबुल गिरी, अशोक दर्जी, रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा हर्क साउदको शब्द र दीपक शर्माको संगीत पनि समावेश छ । संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् ।

सार्वजनिक ट्रेलरले चलचित्रको भावनात्मक कथावस्तु र नीता तथा अशोकको अभिनयलाई दर्शकमाझ प्रस्तुत गरेको छ । ट्रेलरपछि चलचित्रप्रति दर्शकको चासोसमेत बढेको निर्माण पक्षको दाबी छ ।