‘माया भनेकै यस्तो होला’को रिलिज स्थगित, अब कात्तिक २० गते प्रदर्शन हुने

...

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भएको चलचित्रमाया भनेकै यस्तो होलाको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि.ले आइतबार विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरिएको जानकारी दिएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षमा निर्माण टिम पुगेको हो । देश शोकमा रहेका बेला मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानेर रिलिज स्थगित गरिएको निर्माता दिल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ २६ गतेको प्रदर्शन मिति सरेसँगै चलचित्र अब नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य वितरकहरूलाई नयाँ प्रदर्शन मितिबारे औपचारिक जानकारीसमेत गराइसकेको जनाएको छ ।

अचानक प्रदर्शन मिति परिवर्तन गर्नुपरेकामा दर्शक तथा सम्बन्धित सरोकारवालामा पर्न गएको असुविधाप्रति निर्माण टिमले क्षमासमेत मागेको छ ।

रेखा थापाको निर्देशनमा बनेको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डंगोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

दिया एन्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र पारिवारिक परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

ध्रुव लम्सालको पटकथा रहेको चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन् । अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर र प्रिया कार्की मेकअपमा छन् ।