अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा

...

काठमाडौं । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेलधुर्मुसर कुञ्जना घिमिरेसुन्तलीले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखलाम त मर्छु कि क्या होको नियमित प्रसारण सुरु भएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको पहिलो एपिसोड शुक्रबार राति ८ बजे प्रसारण भएको हो।

धुर्मुससुन्तली मिडियाको निर्माणमा तयार भएको यो सिरियल अब हरेक शुक्रबार राति ८ बजे प्रसारण हुने निर्देशक, लेखक तथा कलाकार सीताराम कट्टेलधुर्मुसले जानकारी दिएका छन्। सिरियल धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ।

पहिलो एपिसोड सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै कट्टेलले अमेरिकाबाट नेपाली भाषामा हरेक साता नियमित रूपमा सिरियल प्रसारण गर्ने प्रयास चुनौतीपूर्ण भए पनि आफूहरू त्यसका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन्।

अमेरिकाबाट हरेक साता प्रसारण हुने गरी कुनै पनि सिरियल आएको रैनछ। यहाँ कलाकार र प्राविधिक टिमको समय मिलाउन पनि गाह्रो पर्छ,’ उनले भनेका छन्, ‘तर पनि टिम बनाएर हरेक साता प्रसारण हुने गरी काम गरेका छौं।

उनका अनुसार सिरियलमा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको रहनसहन, दैनिक जीवन, संघर्ष, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र प्रवासी जीवनका विविध पक्षलाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गरिनेछ। अमेरिकामा नेपालीहरूले भोगिरहेका वास्तविक परिस्थितिलाई मनोरञ्जनसँग जोडेर दर्शकमाझ पुर्‍याउने प्रयास सिरियलमा गरिएको निर्माण पक्षको भनाइ छ।

अमेरिकामा नेपाली जीवनको कथा

नर्थ क्यारोलाइनाको राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा छायांकन गरिएको सिरियलले अमेरिकामा रहेका नेपाली समुदायको जीवनशैलीलाई कथाको मुख्य आधार बनाएको छ।

अमेरिका पुगेपछि नयाँ परिवेशमा घुलमिल हुनुपर्ने अवस्था, भाषा र संस्कृतिको चुनौती, रोजगारी तथा व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच, नेपालीपन जोगाउने प्रयास र समुदायभित्रका विविध गतिविधिलाई कथामा समेटिएको निर्माण पक्षले जनाएको छ।

त्यससँगै अमेरिकामा नेपाली समुदायले हासिल गरेका सफलता, अवसर र उपलब्धिका साथै प्रवासी जीवनका चुनौतीलाई पनि हास्य र व्यंग्यको शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। यसले अमेरिकामा बस्ने नेपाली दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोडिन सक्ने विषय दिने अपेक्षा गरिएको छ भने नेपालमा रहेका दर्शकलाई अमेरिकामा नेपालीहरूको जीवनशैली बुझ्ने अवसर प्रदान गर्ने निर्माण पक्षको विश्वास छ।

धुर्मुससुन्तलीकै चर्चित पात्र

सिरियलमा सीताराम कट्टेल र कुञ्जना घिमिरे आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिएका छन्। उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन्।

होस प्रसाद’, ‘मिस्टर फन्टुसलगायत लोकप्रिय हास्य कार्यक्रमसँग जोडिएका मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्। उनको उपस्थितिले सिरियललाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

dhurmus suntali in america
सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय रहेको छ। यसै सिरियलमार्फत सीताराम र कुञ्जनाकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्।

म त मर्छु कि क्या होशीर्षक पनि धुर्मुसका विगतमा चर्चित संवाद तथा थेगोबाट लिइएको हो।

प्रवासमा नियमित कलाकर्मको प्रयास

सिरियलका लागि राजु केसीले छायांकन गरेका छन् भने आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।

निर्माण पक्षका अनुसार अमेरिकामा बसेर नेपाली कला र मनोरञ्जनलाई निरन्तरता दिनु आफैंमा चुनौतीपूर्ण काम हो। कलाकार तथा प्राविधिकको समय व्यवस्थापनदेखि छायांकनका लागि आवश्यक स्थान र अन्य प्राविधिक पक्ष मिलाउन कठिनाइ हुने भए पनि टिम बनाएर नियमित सामग्री निर्माण गर्ने प्रयास गरिएको हो।

नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा बसेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।

उनले प्रवासमा रहेर पनि नेपाली कलाकर्मलाई निरन्तरता दिनु सामान्य कुरा नभएको उल्लेख गर्दै यस अभियानमा नेपाली समुदायको साथ र सहयोग रहने बताएका छन्।

विज्ञापनदेखि सिरियलसम्म सक्रिय

अमेरिका आएदेखि नै सीताराम र कुञ्जना नेपाली कला र सिर्जनामा सक्रिय रहँदै आएका छन्। यस अवधिमा उनीहरूले करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापनसमेत निर्माण गरिसकेका छन्। केही थप विज्ञापन तथा म्युजिक भिडियो पनि निर्माणको क्रममा रहेको सीतारामले बताएका छन्।

म त मर्छु कि क्या होभने उनीहरूको अमेरिकाबाट सुरु भएको नियमित सिरियल निर्माणको महत्वपूर्ण प्रयासका रूपमा आएको हो। हरेक साता नयाँ एपिसोडमार्फत दर्शकमाझ पुग्ने लक्ष्यसहित निर्माण गरिएको सिरियलले अमेरिकामा रहेका नेपालीको जीवनलाई नेपाली हास्यव्यंग्यको शैलीमा प्रस्तुत गर्नेछ।

कट्टेलका अनुसार आफूहरू जहाँ रहे पनि कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन पनि यो सिरियलले भूमिका खेल्नेछ। अब हरेक शुक्रबार राति ८ बजे आउने नयाँ एपिसोडले अमेरिकामा रहेका नेपालीको जीवनका नयाँ कथा र घटनालाई दर्शकमाझ ल्याउने अपेक्षा गरिएको छ।