काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ । विराज भट्टको निर्देशनमा तयार भएको चलचित्रको गीतमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को आकर्षक नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरिएको छ ।
लामो समयपछि नेपाली चलचित्रको गीतमा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएको ‘जुनेली’को भिडियोमा समीर र कृशुको जोडीलाई फरक शैलीमा प्रस्तुत गरिएको छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर छ ।
गीतको अडियोसँगै विशेषगरी भिडियो पक्षले दर्शकको ध्यान खिच्ने देखिएको छ । यसअघि फस्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘१२ गाउँ २’को हाइपलाई ‘जुनेली’ले थप बढाएको छ । समीरको एक्सन र नृत्य क्षमताका कारण पनि चलचित्रप्रति दर्शकको चासो बढिरहेको छ ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् । महेश पौडेलको छायांकन रहेको चलचित्रमा सरस्वती भट्टको लगानी छ ।
चलचित्रमा समीर र कृशुसँगै निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय छ । यही चलचित्रबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन् ।
युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।
‘१२ गाउँ २’ आगामी असोज ३० गते दशैंको फूलपातीको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।







३० भाद्र २०८३, मंगलवार ११:१२ 









