‘आ बाट आमा २’को ‘अचेल किन कान्छी’ सार्वजनिक, पल–मलिकाको सामूहिक नृत्य

...

काठमाडौं । असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ। सामूहिक स्वरमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।

गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायत कलाकारलाई सामूहिक नृत्यमा देख्न सकिन्छ। विशेषगरी सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडियोमा दुलाहा–दुलहीसँगै अन्य कलाकारले समेत छमछमी नाचेको दृश्य समेटिएको छ। गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन्।

निर्माण टिमका अनुसार उक्त गीतको भिडियो छायांकन हालै गरिएको हो। पल शाह र मलिका महतको पहिलो चलचित्र सहकार्यका रूपमा समेत ‘आ बाट आमा २’लाई हेरिएको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तको सहकार्य रहेको छ भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।