काठमाडौं । अभिनेता अनमोल केसी आफ्नो धार्मिक आस्थाका कारण पनि चर्चामा आउने गरेका छन् । यसैबीच, शनिबार चलचित्र ‘बाटुलो जून’को हल भिजिटका क्रममा उनको पहिरनले धेरैको ध्यान खिचेको छ ।
कीर्तिपुरस्थित सिनेप्लेक्समा दर्शकसँग भेटघाट गर्न पुगेका अनमोलले सेतो कोट लगाएका थिए । तर उनको कोटको बाहुलामा बाँधिएको हरियो पट्टी भने विशेष आकर्षण बन्यो । उक्त पट्टीमा तिब्बती लिपिमा केही अक्षर लेखिएका छन् । ती अक्षर बौद्ध धर्ममा प्रचलित ‘ॐ मणि पद्मे हूँ’ मन्त्रसँग सम्बन्धित हुन सक्ने देखिन्छ । यो मन्त्र करुणा, दया र आध्यात्मिक शान्तिको प्रतीक मानिन्छ ।
अनमोलको धार्मिक आस्थासँग जोडेर हेर्दा उनको यो पहिरनले थप चासो पैदा गरेको छ । यद्यपि, उनले उक्त पट्टी किन लगाएका हुन् भन्नेबारे भने खुलाएका छैनन् ।
यता, अनमोल अभिनीत चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको दुई दिनमै नेपाली बक्स अफिसमा ३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले प्रदर्शनको सुरुवाती दिनमै उत्साहजनक व्यापार गरेको हो ।
अनमोलका पिता सुपरस्टार भुवन केसीले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै अभिनेत्री प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको छ । चलचित्रको हल भिजिटका क्रममा अनमोल दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेका छन् ।




२९ कार्तिक २०८३, शनिबार १६:१८ 








