काठमाडौं । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गएको दृश्यले सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेका बेला हास्यकलाकार मनोज गजुरेलले दर्शकसँग माफी मागेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले चलचित्रको छायांकनका लागि तयार गरिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकमा भ्रम सिर्जना हुन पुगेको स्वीकार गरेका छन्।
उनले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने व्यक्ति भएको उल्लेख गर्दै उक्त प्रस्तुतिमा आफू पनि सहभागी भएको बताएका छन्। यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै उनले क्षमायाचना गरेका छन्।
गजुरेलले समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको बताएका छन्। प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
‘नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयगत त्रुटि हुन पुग्छन्। त्यसलाई स्वीकार्नु र सुधार्नु सर्जकहरूको दायित्व हो,’ उनले लेखेका छन्।
उनले राम्रो सिर्जनाको सबैभन्दा बलियो प्रचार स्वयं सिर्जनाको गुणस्तर भएको धारणा पनि राखेका छन्। साथै, एउटा चलचित्र धेरै कलाकार र प्राविधिकको मेहनतबाट बन्ने भएकाले कुनै एक प्रक्रिया वा प्रचार शैलीका आधारमा समग्र चलचित्रको मूल्याङ्कन नगरिदिन उनले दर्शकसँग अनुरोध गरेका छन्।
उनले यस विषयमा सुझाव, आलोचना, चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभारसमेत प्रकट गरेका छन्।
शनिबार काठमाडौंको रञ्जना सिनेप्लेक्समा आयोजित ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बिक्की अग्रवाल र कलाकार गौरी मल्ल, मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेर लगेको दृश्य प्रस्तुत गरिएको थियो। चलचित्रको कथाभित्रकै एक दृश्यलाई प्रचारात्मक शैलीमा प्रस्तुत गरिएको भए पनि सामाजिक सञ्जालमा वास्तविक पक्राउका रूपमा चर्चा भएपछि निर्माण टिमको प्रचार शैलीमाथि प्रश्न उठेको हो।
चलचित्र ‘ककाकिकी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।




३० कार्तिक २०८३, आईतवार १०:३० 








