साउन, काठमाडौं । चलचित्र विकास बोर्डले गतबर्ष जस्तै राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधान सम्मान पुरस्कार यसबर्ष पनि चलचित्रकर्मिहरुलाई बितरण गरेको छ । मंगलबार राजधानी राष्ट्रपति कार्यालय सितलनिवासमा सम्पन्न कार्यक्रममा विभिन्न ८ विधामा सफल चलचित्रकर्मीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी, निर्देशक तथा निर्माता निरविक्रम शाहलाई चलचित्रकर्मी दीर्घ साधान सम्मानबाट सम्मानित गरीयो । शाहलाई राष्ट्रपति रामवरण यादवको हातबाट दोसल्ला, ताम्रापत्रका साथमा नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरि सम्मान गरिएको हो । त्यस्तै कार्यक्रममा उत्कृष्ट चलचित्रको पुरस्कार कबड्डीले हात पार्न सफल भयो भने उत्कृष्ट चलचित्र निर्देशकको पुरस्कार निश्चल बस्नेतले चलचित्र टलकजंग भर्सेस टुल्केबाट प्राप्त गरे ।
उत्कृष्ट अभिनेता र अभिनेत्रीमा चलचित्र सम्बोधनबाट दयाहाङ राई घोषित भए भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । चलचित्र लभ यू बाबाकी कलाकार संगम बिष्ट र चलचित्र टलकजंग भर्सेस टुल्केकी नायिका ऋचा शर्माले यो विधामा पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, चलचित्र लेखन अन्र्तगतको कथा, पटकथा र संवाद विधाको पुरस्कार भने कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरे । उत्कृष्ट छायांकन र सम्पादन विधाको अवार्ड झिग्रानाले प्राप्त गरेको छ । जसअन्र्तगत छायांकनतर्फ शैलेन्द्रध्वज कार्की र सम्पादनतर्फ निमेश श्रेष्ठले पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्रको विधामा मतान चलचित्रलाई पुरस्कार प्रदान गरियो ।चलचित्र विकास बोर्डले वि.सं २०७१ साल वैशाख १ गतेबाट वि।सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुका आधरमा पुरस्कार वितरण गरेको हो ।