असोज, काठमाडौं । नवनिर्वाचित नेपालका ३८ औं प्रधानमन्त्री केपि शर्मा ओलीलाई शुभकामना आउने क्रम जारी छ । सामाजीक सञ्जालमा लगायत छिमेकी राष्ट्रका प्रमुखहरुले पनि शुभकामना दिईरहेका छन् । यसैक्रममा प्रधानमन्त्री ओलीलाई कलाकारहरुले पनि शुभकामना दिएका थिए । हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सँग आर्टिस्ट खबरले गरेको कुराकानीमा शुभकामनाका साथमा अबका दिनमा प्रधानमन्त्री ओलीका अवसर र चुनौती बारे यसरी बोल्छन् ।
अर्जुन घिमिरे ‘पाँडे’
सर्वप्रथम त नवनिर्वाचित प्रधानमन्त्री केपि ओली ज्यू लाई शुभकामना दिन चाहान्छु । नेपालमा जो प्रधानमन्त्री भएता पनि देशले निकास पावस भन्ने मेरो धारणा हो । अबका दिनहरुमा ओली ज्यूबाट हामी जनताको अपेक्षा भनेको अहिले भईरहेको नाकाबन्दी, पेट्रोलियम पदार्थको समस्या तत्काल समाधान होस् । जनताले सुख सुविधासँग बाँच्न पाउन् र कलाकारहरुलाई पनि प्रोत्साहनका साथमा राम्रो प्याकेजमा अगाडि बढाईयोस् ।
कुमार कट्टेल ‘जिग्रि’
प्रधानमन्त्री ओली ज्यूलाई मेरो तर्फबाट भन्नु पर्दा सबैलाई समेटेर राष्ट्रिय एकता कायम गरेर प्रतिपक्ष दलका नेताहरुको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नुहोस् । अहिले तराईमा भईरहेको आन्दोलन पनि हटाउने प्रवृति बनाउनुहोस् । साथै कालोबजारीले बजार तताईरहेको छ यसको तत्काल समाधान होस् र अहिले केपी ओली भनेर जनताले ठुलो आश गरेका छन् जनताले दिएको विश्वासलाई आत्मसाथ गरेर देशलाई माया गर्ने सबैलाई समेट्दै देशलाई अगाडि बढाउनुहुन अनुरोध छ ।
सागर लम्साल ‘बले’
केपि ओली जी नेपालको प्रधानमन्त्री हुनुभो भन्दा खुसी लाग्यो । हुन त आँफु राजनितिमा इच्छा नराख्ने मध्ये एकमै पर्छु तै पनि जनताले चाहेको नेता नै प्रधानमन्त्री हुनभएको छ । अबका दिनमा जनतालाई समेटेर, जनताका मागलाई समेटेर यो देश निर्माणमा जुट्नुहुनेछ भन्ने आशा लिएको छु । र अर्को कुरा नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढ्दै गएको छ यो कुरा हटोस् । देश अहिलेको जस्तो भद्रगोल नहोस् । धेरै धेरै शुभकामना केपि शर्मा ओली ज्यू लाई ।
हरी निरौला ‘कक्रोज’
सर्वप्रथम त प्रधानमन्त्री ज्यूलाई शुभकामना दिन चाहान्छु । केपि ओली ज्यू प्रधानमन्त्री हुँदा हाँस्य व्यग्य क्षेत्र कै मान्छे प्रधानमन्त्री भएजस्तो लाग्यो किनकी ओली ज्यूले कलाकारहरुलाई धेरै माया गर्नुहुन्छ । आफ्नो घर भित्र कै मान्छे प्रधानमन्त्री हुनुभएको छ अब सबैलाई मिलाएर लैजानुहुनेछ भन्ने लागेको छ । हामी जनतालाई सबैभन्दा ठुलो चिन्ता देशको हो अनि हामी नेपालीको हो त्यसैले देश बनाउने तिर लाग्नुहोला, हामी नेपाली पनि अनि बन्नेछौं ।