कात्तिक, काठमाडौँ (रासस) ।

राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ ।

विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाँच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौँ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको नाँच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको थियो । विसं २०३८ मा यो नाँच देखाउन कलाकारका रुपमा सक्रिय भएका ७० वर्षीय ज्ञानबहादुर श्रेष्ठले युवा पुस्तालाई सिकाएपछि यस वर्ष नाँच पुनःस्थापना गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

यो नाँच फेरि कात्तिक १७ गते शनिबार कान्तिभैरव मन्दिर परिसरमा देखाउने तयारी भइरहेको छ । नाँच पुनःस्थापना गर्न युवा पुस्ता पनि सक्रिय भई लागेका छन् । दशैँका अवसरमा २५ वर्ष अघिसम्म भक्तपुरको नवदुर्गा नाँचलाई गोकर्ण देशेमा ल्याइन्थ्यो । विगत २५ वर्ष अघिदेखि टुटेको यो परम्परा पनि पुनःस्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । यो नाँचमा विभिन्न देवीको स्वरुप देखाइन्छ ।

गोकर्ण देशे गोकर्णेश्वर क्षेत्रको पुरानो बस्ती हो । यो बस्ती राजा मानदेवले बसालेको स्थानीय बूढापाकाको भनाइ छ । गोकर्णेश्वर महादेव मन्दिरको पूर्व एवं गोकर्ण जङ्गलको उत्तर–पश्चिम भेगमा यो बस्ती रहेको छ । बस्तीमा नेवार समुदायको बसोबास छ ।

१३ कार्तिक २०७५, मंगलवार ०१:२१