बरु बच्चा पाउन सजिलो होला ग्याँस पाउन सकिएनः सुबोध गौतम

...

subodh gautam - nepali comedian artistकात्तिक १८, काठमाडौं ।  भारतको अघोषित नाकाबन्दीले नेपालमा परेको ग्याँस तथा पेट्रोलियम पदार्थको अभावले नेपाली जनताले ठुलै सास्ती खेप्नु परेको छ । दैनिक दर्जनौं ट्रक ग्याँस तथा पेट्रोल लिएर नाकाबाट भित्रिएको खबर आएता पनि सहज हुन सकेको छैन । पेट्रोल पम्पहरुमा पेट्रोल तथा डिजेल लिनेहरुको लाइन निकै लामो देख्न सकिन्छ । त्यस्तै ग्याँस लिनेहरु पनि राती पनि नभनी लाइनमा बसेका छन् ।

यस्तै क्रममा ग्याँस तथा डिजेलको अभावले नेपाली कलाकारीता क्षेत्रका कलाकारहरुलाई पनि उत्तिकै मात्रामा प्रभाव पारेको छ । पेट्रोलियम पदार्थको अभाव र आफ्नो सवारी लिएर हिड्न नपाउँदा भनेको ठाउँमा समयमा पुग्न नपाएको कलाकारहरुको भनाई छ । सार्वजनिक सावारीमा हिड्दा पनि सबैले चिन्ने र झन् भिडभाडमा गाह्रो हुने भएकाले पनि अझ कलाकारहरुले समस्या खेपिरहेका छन् ।

यस्तैक्रममा हामीले हाँस्यकलाकार सुबोध गौतमलाई ग्याँस तथा पेट्रोलको समस्याले कत्तिको प्रभाव पारेको र नेपालका नेता जीहरुलाई के भन्नु हुन्छ भन्दै केहि सटिक प्रश्न गरेका छौं । कलाकार सुबोध गौतमले आर्टिस्ट खबरलाई आफ्ना दुख यसरी दर्साएका छन् (तल पढौं)

तपाईको ग्याँस सकिएको छ कि नाई ? कसरी चलेका छन् दिनहरु ?
ग्याँस त मेरो घरमा मात्र हैन, पुरै देशमा सकिएको छ । दिनचर्याहरु ग्याँस लाई सम्झिदै बितेका छन् । म दाउरा बटुलेर अंगेनामा आगो बाल्छु, चामल पानी अड्कलेर धुन्छु, कुकरमा खरानी दलेर आगोमा बसाउँछु र सिटि लगाए खाना बनाउछु र खान्छु । subodh gautam - Gyas problem

अनि आफ्नो सवारी चलाउन पाउनु भएको छ त ?
मोटरसाईकल चलाउन पाएको छु तर हाँक्न पाएको छैन । मोटरसाईकल सुतेको सुतेई छ है कहिले ब्युझिएला ।

अनि ग्याँस, पेट्रोल पाउनु भएको छैन त ?
कहाँ बाट पाउनु र बरु बच्चा पाउन सजिलो होला ग्याँस र पेट्रोल पाउन सकिएन ।

यस्तो दुखमा नेता जी हरुलाई केहि भन्नु छ कि ?
आफ्नो दुख आफुले नसम्झे कसले सम्झेला । रह्यो कुरो ठुला नेताको, नेता त झन् महान कलाकार भेहाले । ठुला नेता त्यो भन्दा पनि महान कलाकार । नत्र नेपाली राजनितिको रंगमंचमा थरि थरिका अभिनय कहाँ हेर्न पाइन्थ्यो । मलाई यहाँ नेताजीको बुद्धि सुनाउन मन लाग्योः
एकजना पत्रकार सँग नेताले भनेछन्, म प्रधानमन्त्री भएको भोलिपल्ट डिजेल पेट्रोलको आधा समस्या हल गर्छु ।
पत्रकारः कसरी ?
नेताः देशै भरिका सडक भिरालो बनाउने आदेश दिन्छु माथिबाट जाँदा तेल नभए पनि हुन्छ ।
पत्रकारः अनि माथि आउँदा त ?
नेताः आधा पो हल गर्छु भनेको त बाँकी आधा त बिपक्षि दलले पनि त सोच्नु पर्यो नी ।