आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

झण्डै डेद दशकदेखि चलचित्र निर्माण, निर्देशन र लेखनमा लागिरहेका निर्देशक ऋषिराज आचार्य आफ्नो लागी चलचित्र जीवन भएको बताउँछन् । दर्शकलाई भरपुर मनोरञ्जन र समाजलाई केही उर्जा प्रदान गर्ने सन्देश दिने चलचित्र बनाउँदै आएका ऋषिराजले चलचित्रमै लामो समय जीवन ब्यतित गरेको र अबको जीवनपनि यसै क्षेत्रमा लगाउने सोचका साथ अगाडी बढिरहेकाले चलचित्रलाई जीवन ठानेको बताउँछन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘ड्रिम गर्ल’ हो भने उनी अहिले ‘चुरीफुरी’ चलचित्रको छायांकनमा जाने क्रममा छन् ।

टेलिसिरियल गंगाजमुनामा मुख्य सहायक निर्देशकको काम बाट यस क्षेत्रमा प्रवेश गरेका ऋषिराज ०५९ सालमा सुरु भएको उनको पर्दाको यात्राले सात बर्षपछि टेलिश्रृंखलाको मुख्य निर्देशकको जिम्मेवारी बहन ग¥यो । उनले ०६६ मा आफ्नो एकल निर्देशनमा नेपाल टेलिभिजनमा आफन्त टेलिसिरियल प्रदर्शनमा ल्याए । १४७ भाग प्रशारण भएको आफन्तपछि ०६८ मा नेपाल टेलिभिजनमै उनको निर्देशनमा ५५ भागको यात्रा जिन्दगीको प्रशारण भयो । त्यसपछि उनले एनटिभी प्लसमा सन्जिवनी, चाहना, बिश्वास,नेपाल १ मा झट्कालगायतका टेलिसिरियल निर्देशन गरे । टेलिश्रृंखला तथा बिज्ञापनहरु निर्देशन तथा अभिनयबाट दर्शकको मन जितीरहेका उनले ठूलो पर्दामा छलाङ मार्ने सोच बनाए ।

ऋषिराजले आफूले चलचित्रक्षेत्रसँग थप कोर्ष सिक्नु आवश्यक ठानेर मुम्बई पनि गएको बताउँछन् । ‘सानो पर्दाको काम गर्दा गर्दा प्रचुर अनुभव हासिल गरे तापनि ठूलो पर्दाको फिल्मको लागि भने केही एडभान्स्ड कोर्ष गर्नुपर्छ भन्ने मलाई लाग्यो । त्यसकारण म मुम्बइ लागें ।’ मुम्बइमा एक बर्ष चलचित्र निर्देशन कोर्ष गरेका आचार्यले ठूलो पर्दामा पाइला राखे– ‘मिस्टेक’ चलचित्रबाट । सामाजीक प्रेमकथानक मिस्टेकबाट पाएको सकारात्मक प्रतिक्रियाले हौसिएका उनले त्यसपछि लगातार चलचित्र निर्माण, निर्देशन गरिरहेका छन् । उनले निर्देशन गरेका मिस्टेकपछि ‘सपना तिम्रो मेरो, सुन्तलीलाई भागाई लग्यो झिल्केले र ड्रिम गर्ल’ दर्शकमाझ आइसकेका छन् । चलचित्र निर्देशक, निर्माण, स्क्रिप्ट लेखन र अभिनयमा समेत सक्रिय आचार्यको ड्रिम गर्ल गत मंसिर पहिलो साता प्रदर्शन भएको थियो ।