मुम्बई , एजेन्सी ।

अहिलेका सुपर स्टर बलिउड नायक रणवीर सिंह सफलताको शिखरमा पुगेका छन् । एकपछि अर्को लगातार हिट चलचित्रका कारण उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि धेरै छ । रणवीर यशराज ब्यानरको ‘ब्याण्ड बाजा बारात’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए । डेब्युकै लागि रणवीरले सो समयमा उक्त कम्पनीका मालिक आदित्य चोपडालाई १० लाख रुपैयाँ वुझाएको खबर सार्वजनिक भएको थियो ।

रणवीरका पिताले छोरालाई यशराज ब्यानरबाट बलिउडमा डेब्यू गराउनका लागि १० लाख दिएको चर्चा चलेको थियो । यो बिषयमा ‘सिम्बा’ हिरोले मुख खोलेका छन् । रणवीरले भने–‘मेरो डेब्यूको समयमा यस्तो खबर फैलिएको थियो । मलाई यो सुनेर निकै दुख लागेको थियो । मलाई त्यो समयमा लागेको थियो कि, कोही मानिस यति ठूलो झुट कसरी लेख्न सक्छ ।’

रणवीरले अगाडि भने–‘मैले बलिउडमा प्रवेश गर्नका लागि ठूलै संघर्ष गरेको छु र यो कुरामा मलाई गर्व छ । नयाँ कलाकार मलाई म्यासेजमा आफूले पैसा जुटाएको र यशराजको ब्यानरबाट कसरी डेब्यू गर्न सकिन्छ भनेर सोध्ने गर्छन् । म उनीहरुलाई यो सबै झुटो कुरा भएको जवाफ दिन्छु ।’ रणवीरले सबैभन्दा पहिले त आफूमाथि नै भरोसा हुन आवश्यक रहेको सुनाए ।