कात्तिक २२, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार हरी निरौला (कक्रोज) यतिखेर देश बिदेशका बिभिन्न कार्यक्रममा व्यस्त छन् । छोटो समयमै टेलिश्रृंखला भद्रगोलको लोकप्रियताले गर्दा एकाएक चर्चा कमाएका कक्रोजले आफ्नो कपाल मुठ्ठो बन्न काठमाडौंको पानीले सहयोग गरेको बताउँछन् । आफु सानो छँदा सिल्की कपाल भएको र जब काठमाडौं आए तब काठमाडौंको पानीले नुहाँउदा कपाल बिस्तारै जम्दै गएको बताउँछन् । कलाकार निरौलाले आफ्नो कपाल कोर्ने बानी खासै नभएकोले पनी कपाल यस्तो भयो भन्दै सुनाए ।
सुरुमा त आफ्नो कपालले आफुलाई हैरानी बनाएको र जब भद्रगोलमा कक्रोजको भुमिकामा देखिए तब दर्शकले मन पराउन लागेपनि आफुलाई आफ्नो कपाल राम्रो लाग्न थालेको बताए । पछिल्लो समय देश भित्रका बिभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेका कक्रोजले आफ्नो कपालको राम्रो स्याहार गर्न नभ्याएको बताउँछन् । कपाललाई धुँदा पनि साधारण तरीकाले नभई कब्बल धोए जसरी धुनु पर्ने उनी बताउँछन् । साथै कपालका लागि मात्र उनले खर्च धेरै गरेको बताउँछन् । “मेरो नेचुरल कपाल भएकोले पनि पार्लरमा जानु पर्दैन तर एक बट्टा स्याम्फुले तिन दिन मात्र पुग्छ, स्टेज कार्यक्रमबाट आएको आधा पैसा स्याम्फु किन्दै गएको छ,” उनले भने ।
कक्रोजले कपालले गर्दा कतिपय ठाउँमा आफुलाई गाह्रो भएको पनि बताए । कुनै व्यक्तिगत कामका लागि र गोप्य कामका लागि जाँदा टाढै बाट जो कोहिले पनि चिन्ने भएकोले पनि केहि समस्या भएको बताउँछन् तर उनी यो समस्या आफ्नो लागि समस्या नभएर दर्शकको माया भन्न रुचाउँछन् । “अन्य कलाकारलाई अनुहारमा हेरेर दर्शकले चिन्नु हुन्छ होला तर मलाई टाढैबाट कक्रोज आयो भनेर दौडिदै हेर्न आउनु हुन्छ,” उनले भने ।