आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

इण्डोनेशियाको बालीस्थित उबुदमा चार जना नेपालीले कला प्रस्तुत गरेका छन्। उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भैरहेका छन्। साथमा उनीहरु आफुसँग लिएर गएका सहित १७ जना नेपाली कलाकार र तीन जना इण्डोनेशियन कलाकारहरु गरी कुल २१ जना कलाकारहरुको तीन दर्जनभन्दा बढि कला सिर्जनाहरुको प्रदर्शनी भैरहेको छ ।

काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरी तथा इण्डोनेशियाको विना ग्यालरीको संयुक्त आयोजनामा नेपाल तथा इण्डोनेशियाका कलाकारहरुको संयुक्त चित्रकला प्रदर्शनी भैरहेको हो । ‘टुगेदर’ शिर्षकमा सञ्चालन भैरहेको उक्त चित्रकला प्रदर्शनीमा प्रत्यक्ष सहभागी नेपालका कलाकारहरु मध्ये कलाकार श्यामसुन्दर यादवले पाँच थान आधुनिक मिथिला कला प्रदर्शन गरेका छन् भने कलाकार विभुषण ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति प्रदर्शन गरिरहेका छन् । यसैगरी कलाकार जया शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्र प्रदर्शनीमा राखेकी छिन् । कलाकार अनिता भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रतिबिम्बित गरेकी छिन् ।

स्थानीय कलाकारहरुमा एन्टोनियस खोले इण्डोनेशियाको आदिवासी कला प्रदर्शन गरेका छन् भने केतुत जया र मेद सोमादिताले इण्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका छन् । नेपालमा लोक, परम्परागत र आधुनिक कलाले अहिले स्थान एवं चर्चा पाइरहेको बताउँदै आयोजक यादवले ती तीनै किसिमको कलालाई उबुदको आरमामा प्रदर्शन गरिएको बताए । मिथिला, पौवा जस्ता परम्परागत र लोक एवं डिजिटल र क्रियटिभ आर्ट जस्ता आधुनिक कलालाई प्रदर्शनीमा राखिएको बताइएको छ।

१६ बैशाख २०७६, सोमबार ०२:४५