आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेपालका चर्चित कलाकार तथा समाजसेवी उदाहरणीय जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले लकडाउनका कारण मारमा परेका मानिसहरुलाई सहयोग गर्ने निर्णय लिएका छन्। चितवनको भरतपुरमा 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' बनाउँदै गरेका सिताराम र कुन्जनाले धुर्मुस सुन्तली फाउण्डेशन मार्फत विभिन्न अन्य सामाजिक कार्यहरु पनि गर्दै आएका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले लामो समय लकडाउन गरेपछि दैनिक ज्याला मजदुर गरेर खानेहरु यतिबेला समस्यामा परेको बताउँदै धुर्मुस सुन्तलीले सहयोगको हात अघि बढाउँने निर्णय लिएका हुन्। मंगलबार कुन्जना घिमिरेले आफ्नो आधिकारीक फेसबुकमार्फत धुर्मुस सुन्तली फाउण्डेशनबाट राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने बताएकी छिन्।

उनको स्टाटस यस प्रकार रहेको छ:

'यो संकट तथा महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो। हामी पनि लकडाउनको पालना गरी घरबाट नै बिभिन्न सन्देशमुलक सामग्रीहरु बनाईरहेका थियौं। कोरोना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको छ। अब यो समयमा सबैजना मिलेर मानविय धर्म पनि निर्वाह गर्नुपर्छ। हामीले पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत,उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं। यो विषम परिस्थितिमा कोही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विपतमा पर्नुभएकाहरुलाई सहयोग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं। सम्पर्कका लागि फोन नं.९८४१७२१४१४र९८४२६८६४००'

धुर्मुस सुन्तलीले आर्थिक सहयोग मात्र होइन,कोरोनाबाट बच्न सन्देशमुलक सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गर्दै जनमानसमा सजगता ल्याएका छन्। उनीहरुले आफूहरु पनि सहयोग गर्दै यो संकटकालमा सबैलाई मारमा परेका मानिसहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन्। अरुबेला घरमा समय दिन नभ्याउने यी जोडी अहिले छोरीको साथमा घरमै लकडाउनको पालना गरिरहेका छन्।

९ बैशाख २०७७, मंगलवार ११:२१