काठमाडौँ । अभिनेत्री ऋचा शर्माले ‘आईमाई’ शब्दप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पारेकी छन् । केही समयअघि कमेडी च्याम्पियन कार्यक्रममा एक प्रतिस्पर्धीले ‘आईमाई’ शब्द प्रयोग गरेपछि उक्त शब्द प्रयोग नगर्न आग्रह गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी ऋचाले सामाजिक सञ्जालमा व्यापक आलोचना खेप्नुपरेको थियो ।
उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि ऋचाले पुनः आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले शब्द आफैँमा नराम्रो नहुने तर त्यसलाई प्रयोग गर्ने व्यक्तिको नियत र शैलीले त्यसको अर्थ निर्धारण गर्ने बताएकी छन् ।
ऋचाले ‘आईमाई’ शब्द आफैँमा चोखो र मिठो शब्द भएको उल्लेख गर्दै समाजले नै यसलाई नकारात्मक अर्थमा प्रयोग गर्दै आएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘यो आईमाई शब्द चोखो मिठो शब्द हो । मलाई धेरैले बुझाउनुभयो । त्यसो हो भने यो समाज किन यति धेरै हिपोक्रेट छ ? त्यही आईमाई माता भन्ने शब्दलाई किन गालीमा प्रयोग गर्छ ? शब्द आफैँमा नराम्रो होइन, तर तपाईंले त्यो शब्द कुन इन्टेन्सनले प्रयोग गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’
उनले ‘आईमाईको जस्तो बुद्धि’, ‘आईमाईको जस्तो व्यवहार’, ‘कस्तो चोथाले आईमाई’ जस्ता अभिव्यक्तिहरू उदाहरणका रूपमा प्रस्तुत गर्दै समाजमा उक्त शब्दलाई कसरी अपमानजनक रूपमा प्रयोग गरिँदै आएको छ भन्ने प्रश्न उठाएकी छन् ।
‘शब्द आफैँमा कहिल्यै पनि गलत हुँदैन । शब्दको सुरुवात ब्युटिफुल हुन्छ, तर शब्दको इन्टेन्सनले ठूलो अर्थ राख्छ । मलाई शब्दप्रति कुनै गुनासो छैन, तर जुन प्रकारले पुर्खौंदेखि यति नराम्रोसँग प्रयोग गर्नुभएको छ कि अब मलाई कुनै प्रेम छैन । त्यसैले मैले प्रयोग नगरौँ भनेको हो,’ ऋचाले स्पष्ट पारेकी छन् ।
यससँगै ऋचाले आफूले ‘आईमाई’ शब्दलाई नै गलत भन्न नखोजेको, बरु लामो समयदेखि उक्त शब्दलाई अपमानजनक रूपमा प्रयोग गरिँदै आएकाले त्यसको प्रयोगप्रति असहमति जनाएको स्पष्ट पारेकी छन् ।




७ मंसिर २०८३, आईतवार २२:३९ 








