चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’ बन्ने

...

माघ, काठमाडौँ । आजभन्दा सातबर्ष अघि प्रदर्शन भएको चलचित्र ‘पशुपति प्रसाद’को टिमले ‘पशुपति प्रसाद २ भष्मे डन’ निर्माण गर्ने भएको छ ।  आज (माघ १५) गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्र निर्माणको घोषणासँगै चलचित्रको कलाकार र प्राविधिक टिम चिनायो । 

चलचित्रमा ‘पशुपति प्रसाद’का मुख्य कलाकार मध्येका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटीले यो चलचित्रमा अभिनय गर्नेछैनन् । चलचित्रमा खगेन्द्रको लेखन र निर्माण मात्र रहने कार्यक्रममा जानकारी गराइयो । अर्का मुख्य कलाकार विपिन कार्कीको भने अभिनय रहनेछ ।

तर निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल चाहिं होइन भनेको छ । चलचित्रको प्रमुखमध्येको एक पात्र भष्मे डनको चरित्रमाथि चलचित्र निर्माण हुन लागेको बताइएको छ ।

pashupati prasad 2.jpg

यस्तै चलचित्रलाई दीपेन्द्र के. खनालले नै निर्देशन गर्नेछन् । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ ।

चलचित्रको डिओपीमा निरज कँडेल, छायांकार कृष्ण थापा, सम्पादक दिर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्धाज र सुवास भुसालले संगीत दिनेछन् । साथै चलचित्रको प्रदर्शन आगामी बर्ष २०८० को फुलपातीमा गरिने जानकारी गराइयो ।

pashupati-prasad-2-movie.jpg

सातबर्ष पुगेको उपलक्ष्यमा सेलिब्रेशन
चलचित्र पशुपति प्रसाद प्रदर्शन भएको सातपबर्ष पुगेको उपलक्ष्यमा निर्माण टिमले सेलिब्रेशन गरेको छ । कलाकारको टिम सहित केक काटिएको थियो । निर्देशक दीपेन्द्र के. खनालले चलचित्र प्रदर्शन भएको सातबर्ष पुग्दा पनि दर्शकले दिएको माया अझै कमि नभएको भन्दै सिक्वेल बनाउने तयारीमा जुटेको बताए । उनी भन्छन्, ‘दर्शकले हामीसँग आजको दिनसम्म पनि पशुपति प्रसादको बारेमा कुरागर्नुहुन्छ । सिक्वेल कहिले आउँछ भन्ने प्रश्न आइरहन्थ्यो । त्यसैले पनि अब बेला भएको हो भन्ने लाग्यो ।’