भारतको हैदराबादबाट ‘ह्रस्व दीर्घ’को छायांकन सुरु

...

माघ, काठमाडौँ । नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गरिएको छ । भारतको हैदराबादबाट चलचित्रको छायांकन सुरु गरिएको हो । संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीबाट चलचित्रको छायांकन थालिएको हो । सोमबार क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि नेपाली कलाकार र साउथ चलचित्रका लोकप्रिय कलाकार अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको बताइएको छ । 

चलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले एक भिडियो सन्देशमार्फत् भनेकी छन्, ‘फिल्मको बारेमा हामीले धेरै वर्णन गर्‍यौं । अब चाहिँ बल्ल छायांकन सुरु भएको छ । संसारकै सबैभन्दा ठूलो स्टूडियोमा नेपाली फिल्म खिच्नु भनेको नेपाली र नेपाली फिल्म इन्डष्ट्रीका लागि धेरै ठूलो कुरा हो जस्तो लाग्छ । पहिलो कदम मैले चालेँ, अब तपाईंहरुको साथ, माया र आर्शिवाद चाहिएको छ ।’

चन्द्र पन्त निर्देशक रहेको चलचित्रमा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ । नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लागत चार करोड बढी अनुमान गरिएको छ ।