‘बुलाकी’को ‘नाच सुवा नाच’ गीत सार्वजनिक

...

फागुन, काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत ‘नाच सुवा नाच’मा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रको सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर सुन्न सकिन्छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् । यही मितिमा अन्य तीन चलचित्र ‘नाई नभन्नु ल ६’, ‘जारी’ र ‘बिहे पास’ पनि रिलिज हुँदैछन् ।