‘बुलाकी’बाट सफलताको पर्खाइमा अभिनेता नरेन

...

चैत, काठमाडौँ । ‘हमेशा’ चलचित्रबाट डेब्यु गरेका अभिनेता नरेन खड्काले अभिनय गरेको चलचित्र ‘बुलाकी’ आउँदो शुक्रबारबाट प्रदर्शन हुने तयारीमा छ । अभिनेता खडका्ले विभिन्न नेपाली चलचित्रका साथै केही भोजपुरी चलचित्रमा समेत अभिनय गरिसकेका छन् । यद्यपि, राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनी दर्शकको नजरमा पर्नै सकेनन् ।

नयाँ चलचित्र ‘बुलाकी’ मा आफू सशक्त भूमिकामा प्रस्तुत भएकाले दर्शकको नजरमा पर्ने तथा उनीहरुको मन जित्ने कुरामा समेत अभिनेता खड्का आशावादी देखिएका छन् । नेपाली चलचित्र निर्माण गर्ने ठूला ब्यानर तथा निर्माता–निर्देशकको साथ नपाउँदा ओझेलमा परेका झैँ देखिएका अभिनेता खड्काको अभिनय गर्ने क्षमता तथा प्रतिभामा भने खोट लगाउन ठाउँ नदेखिएको उनीसंग काम गरेका सिनेमाकर्मी बताउँछन् ।

अभिनय क्षमता भएर पनि अभिनेता खड्काले काम गरेका चलचित्रहरुले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय सिनेमा नै गलत पर्नु पनि उनको कामको मूल्यांकन हुन नसकेको अर्को उदाहरण हो ।

यसपटक उनी ‘बुलाकी’ मार्फत दर्शकको साथ, समर्थन तथा माया पाउने कुरामा ढुक्क देखिन्छन्, संग–संगै आशावादी पनि छन् । ‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरेँ । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ, उनी भन्छन् ।

‘बुलाकी’ मा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्, जो विवाहित छन् । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन । खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् ।

चलचित्रका सार्वजनिक प्रचार सामाग्री ट्रेलर हेर्दा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेता खड्काले पनि उत्कृष्ट काम गरेको अनुमान गर्न सकिन्छ । अभिनेता खड्का आफैँ पनि सुदुरपश्चिममा जन्मि–हुर्केका हुनाले कर्णाली प्रदेशको एक साधारण युवकको भूमिकामा काम गर्न सहज भएको बताउँछन् । उनी भन्छन्– ‘बुलाकी मेरो कमब्याक सिनेमा हुनेछ ।’

चलचित्रमा अभिनेता खड्का तथा अभिनेत्री पन्तसंगै बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ ।