चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘ मिसिङः केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ’ सार्वजनिक गरिएको छ । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा भिडिओ छायांकन भएको भिडियोले पुष्टि गर्छ ।

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा चलचित्र निर्माण भएको संकेत गरेको छ ।

यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

उनी स्वयं निर्माता रहेको चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।