काठमाडौँ ।
– एलिना र विष्णु
चर्चित गायिका एलिना चौहान र गायक विष्णु सापकोटाबिच केही दिन अगाडि औपचारिक रूपमै सम्बन्ध विच्छेद भयो । काठमाडौंँ जिल्ला अदालतमा एलिनाले दायर गरेको निवेदन बमोजिम अदालतले नै उनीहरूको सम्बन्ध विच्छेद गराइदिएको हो । विवाह गरेको करिब १० महिनामा यी दुईले दाम्पत्य सम्बन्धमा पूर्णविराम लगाए । गत वैशाखमा उनीहरूले विवाह गरेका थिए ।

– निशान र ऋचा
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबिच २०७७ सालमा विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गरेका थिए । यी दुईको प्रेम विवाह पनि लामो समय टिक्न सकेन । यी दुईले २०८० चैतमा काभ्रे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेका हुन् । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङमा सक्रिय छिन् ।

-राजेशपायल र साङबुङ
गायक राजेशपायल राईले पत्नी साङबुङ राईसँग २०८० चैतमा कानुनी रूपमा सम्बन्ध विच्छेद गरे । काठमाडौँ जिल्ला अदालतमा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । २०७८ असोजमा यी दुईबिच विवाह दर्ता भएको थियो । प्रेम विवाह गरे पनि लुकाउँदै आएका यी दुईको दाम्पत्य जीवन छोरा सायरेम जन्मिएपछि मात्र बाहिर प्रकट भएको थियो । छोरा दुई वर्षको हुँदा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् ।

– शिल्पा र छवि
अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबिच २०७९ फागुनमा औपचारिक रूपमै सम्बन्धविच्छेद भयो । काठमाडौँ जिल्ला अदालतले अंशबण्डासहित सम्बन्ध विच्छेद गर्ने फैसला सुनाएको थियो । रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छविले शिल्पासँग प्रेम गरेका थिए । यी दुईको विवाह २०७३ साल असार २९ गते भएको थियो । यद्यपि विवाह गरेको खबर उनीहरूले गुपचुप नै राखे । विवाहको तस्बिर तीन वर्षपछि मात्रै सार्वजनिक भएको थियो । २०७६ मा घरायसी झगडाका कारण यी दुईको सम्बन्ध विच्छेदको निर्णयमा पुगे ।
-उषा र जीपी
पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको प्रेम विवाह पनि सम्बन्ध विच्छेदमा टुङ्गियो । दुवैको सम्बन्ध विच्छेदको जानकारी २०७६ मा उषाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । दुई वर्षको प्रेमपछि विवाह गरेका उषा र जीपीले १७ वर्षको दाम्पत्य जीवन तोडेका हुन् । उषा र जीपीको एक छोरा र एक छोरी छन् ।







४ फाल्गुन २०८१, आईतवार ०९:१४ 








