काठमाडौं । संगीत रोयल्टीको विषयलाई लिएर गीतकार र संगीतकारहरु रोयल्टीको मुद्दा लिएर प्रहरीसम्म पुगेका छन् । उपत्यकामा रहेका यातायात, होटल, पार्टीप्यालेस, रेस्टुरेन्ट, डान्स बार, दोहोरी, क्लब र मेला महोत्सवमा सार्वजनिक रुपमा स्रष्टाका गीतसंगीत प्रयोग गरी व्यवसाय गरिरहेको हुँदा सोही स्थानबाट रोयल्टी उठाउनका लागि प्रहरीसमक्ष स्रष्टाहरु मुद्दा लिएर पुगेका हुन् ।
गीतकार संघ नेपाल र संगीतकार संघ नेपालको संयुक्त आयोजनामा एवं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा भएको ‘प्रतिलिपि अधिकार संरक्षण अनुशिक्षण कार्यक्रम’मा ‘प्रतिलिपि अधिकारसँग सम्बन्धित सन्धी सम्झौता र प्रतिलिपि अधिकार ऐन कार्यान्वयनमा प्रहरीको कर्तव्य, दायित्व तथा भूमिका’का विषयमा अन्तरक्रिया एवं प्रशिक्षण भएको थियो ।
उपत्यकाका प्रहरी कार्यालय अन्तर्गत सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरी अधिकृतहरुसँगसँग जिल्ला प्रहरी परिसर भद्रकालीमा कार्यक्रमको आयोजना गरी स्रष्टाको बौद्धिक अधिकार, नैतिक अधिकार र प्रतिलिपि अधिकारका बारेमा अनुशिक्षण गरिएको हो । उपत्यका प्रहरी प्रमुख टेकबहादुर तामाङको साथ र सहयोगले उपत्यकाका ६० जना प्रहरी अधिकृतहरुको उपस्थितिमा स्रष्टाहरुले आफ्नो अधिकार हनन् भएको हुँदा फौजदारी मुद्दा अनुसार अगाडी बढिदिन प्रहरीलाई अनुरोध गरेका छन् । स्रष्टाको अधिकारका विषयमा मुद्दा लिएर कारबाही अगाडी बढाउन स्रष्टाहरुले अनुरोध गरेका छन् ।
सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, संगीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटा, पूर्व रजिष्ट्रार तथा कवि गीतकार बिसु कुमार केसी लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय मातहतका मुद्दा चल्ने सबै कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, प्रशिक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







२३ फाल्गुन २०८१, शुक्रबार १८:२२ 








