काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । फिल्मको शनिवार सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द रचना र स्मारिका फुयाँलको स्वर छ । मधेशको सेटअपमा खिचिएको गीतलाई फिल्मका कथा वाचनको रुपमा समावेश गरिएको छ । गीतको सार्वजनिक भिडियामा फिल्मका प्राय सबैजसो कलाकारलाई स्थान दिइएको छ । गीतका शब्द गहन लाग्छ । जसले मधेश र पहाडमा हुने विभेदलाई गजवले प्रस्तुत गरेको भान हुन्छ । गीतले दर्शक तथा श्रोतालाई फिल्म हर्ने उत्साहित बनाउने देखिन्छ ।
यसैबिच, फिल्मको छायांकन स्थल जनकपुरमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिएको छ । जनकपुरमा अवस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको थियो । जनकपुरका मेयरदेखि प्रहरीका उच्च पदस्थ पदाधिकारीले प्रिमियर शोमा फिल्म हेरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र फिल्ममा आबद्ध जनकपुरका कलाकारले फिल्म हेरेका थिए ।
सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो फिल्म गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।







२५ फाल्गुन २०८१, आईतवार १७:४४ 








