काठमाडौँ। भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको नृत्य समेटिएको छ ।
केदारले रानी बनाउने भन्दै वर्षालाई फकाइरहेका छन् भने वर्षाले मन चोरेर पछि भाग्न नपाइने सर्त राखेकी छन् । हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट यो चलचित्र प्रदर्शनमा आउदैछ।
यस गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय रहेको छ भने आर्यन सिग्देल विशेष भूमिकामा छन् । पैसाको बलमा आफैंलाई राजा ठान्ने पात्रको कथामा फिल्म आधारित छ ।







२४ असार २०८२, मंगलवार १८:५३ 








