काठमाडौँ । बंगलादेशको बोगरा शहरमा सम्पन्न छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) र बृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएका छन्। ३२ देशका ७४ चलचित्र सहभागी महोत्सवमा दुवै नेपाली कृतिले अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेका हुन्।
गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ ‘इन्टरनेशनल सर्ट इन्डोर’ विधामा छनोट हुँदै सम्मानित भएको हो। निर्देशक क्षत्रीसहित अभिनेता प्रवण भुसाल र अभिनेत्री तथा गायिका सरिता भारतीले समापन समारोहमा अवार्ड ग्रहण गरेका थिए।
त्यस्तै, निर्देशक केपी पाठकद्वारा निर्देशित कात्तिक नाचमा आधारित बृत्तचित्र ‘तान्त्रिक डान्स’ले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ। दुवै चलचित्रको बंगलादेश प्रिमियर उद्घाटन समारोहमै गरिएको थियो।
पुण्ड्रनगर फिल्म सोसाइटी बोगराको आयोजनामा तीन दिनसम्म चलेको महोत्सवमा नेपाल, भारत, रुस, स्पेन, सिंगापुरलगायत देशका चलचित्रकर्मी सहभागी थिए।







२९ पुष २०८२, मंगलवार १६:१६ 











