काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ ले युट्युबमा रिलिज भएको दुई दिनमै रेकर्ड ब्रेक गरेको छ । माघ १ गते सार्वजनिक गरिएको उक्त गीतले यो समाचार तयार पार्दासम्म २८ लाख भन्दा बढी भ्युज प्राप्त गरिसकेको छ ।
पछिल्लो समय चलचित्रका गीतले अपेक्षित दर्शक पाउन नसकिरहेको अवस्थामा दुई दिनमै २८ लाख भ्युज पार गर्नु सुखद उपलब्धि मानिएको छ । रिलिज भएको पहिलो एक घण्टामै गीतले ३ लाखभन्दा बढी दर्शक तानेको थियो ।
गीतको भावले बाध्यतावश परदेशिनु पर्ने नेपालीको पीडा चित्रण गरेको छ । भिडियोमा अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको सशक्त अभिनयले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आएका छन् । निर्देशक चन्द्र पन्तका अनुसार वर्तमान नेपाली समाजको यथार्थ कथालाई फिल्मको मुख्य विषय बनाइएको छ, जसको झल्को यस गीतमा पनि देख्न सकिन्छ ।
गीतमा किरण परियार र शान्तीश्री परियारको स्वर, अभि सुनारको शब्द तथा संगीत रहेको छ । भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै हो । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्र माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।







४ माघ २०८२, आईतवार १३:०४ 











