काठमाडौं । फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चर्चित चलचित्र ‘बिगुल’को प्रचारप्रसार तीव्र बन्दै गएको छ। फिल्मको टिमले एक साताअघि सुरु गरेको पश्चिम नेपाल मोफसल भ्रमण मंगलबार पोखरामा सम्पन्न गरेको हो। भ्रमणका क्रममा बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगञ्ज र पोखरामा दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो।
यसअघि पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौंडा र चितवनसम्म पुगेको ‘बिगुल’ टिम पश्चिम नेपालमा पनि दर्शकको उल्लेखनीय उत्साह देखेर उत्साहित भएको छ। निर्माता तथा कथाकार दिनेश कोइरालाका अनुसार जहाँ–जहाँ टिम पुग्यो, सबै ठाउँमा दर्शक ‘बिगुल’ हेर्न प्रतीक्षारत देखिए। स्थानीय अगुवा, सञ्चारकर्मी, नेपाल जेसिस, शैक्षिक संस्था र विभिन्न पेशाकर्मीको सक्रिय साथ पाएको उनले बताए।
अभिनेता नरेन खड्काले ‘बिगुल’ हरेक उमेर, वर्ग र समुदायका दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। निर्देशक रमेश कोइरालाले भने भुँइमान्छेको कथा, समसामयिक राजनीति, पारिवारिक दायित्व र आम नेपालीका अधिकारका विषय उठान गरिएकाले दर्शकले फिल्मप्रति गहिरो चासो देखाएको अनुभव सुनाए।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’मा नरेन खड्का, बेनीशा हमाल, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, मानश्री शर्मा, नवअभिनेत्री मीरा पण्डितलगायत कलाकारको अभिनय छ। राजधानीमा काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले फिल्म वितरण गर्दैछन्।







१४ माघ २०८२, बुधबार ०८:५६ 











