काठमाडौँ । माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’को टिम प्रचारप्रसारलाई तीव्र बनाउँदै पोखरा पुगेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा दर्शकमाझ फिल्मबारे जानकारी पुर्याउने उद्देश्यले कलाकारसहितको टिम पोखरा पुगेको हो।
पोखरा पुगेका कलाकारहरूमा विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलसँगै कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। पोखरा आगमनसँगै निर्माण टिमले प्रेसमिट आयोजना गरी फिल्मबारे जानकारी दिएको निर्माता रसालीले बताए। उनका अनुसार, पोखरामा दर्शक तथा सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
सोमबार मात्रै चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। निर्देशक चन्द्र पन्तका अनुसार, प्रचारप्रसारमा थप ऊर्जा दिन भारतबाट आएका अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत सक्रिय रूपमा लागिरहेका छन्। उनीहरूसँगै नेपालमा रहेका पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचार अभियानमा जुटेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको ‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ। नवराज उप्रेतीको छायांकन रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन्।
आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मका चर्चित गीतहरू ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ ले ३० लाखभन्दा बढी भ्युज बटुलिसकेका छन्।







१४ माघ २०८२, बुधबार ०८:५७ 











