देशब्यापी प्रदर्शन तयारीमा ‘बिगुल’, नेपाल जेसिसले दियो सहयोग

...

काठमाडौं — आगामी फागुन १ गते देशभर प्रदर्शनमा आउने नेपाली फिल्मबिगुलका सम्बन्धमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।

निर्माता कोइरालाले देश र जनताको पक्षमा सन्देश दिने मनोरञ्जनात्मक फिल्म निर्माण गरेको बताए। कथाकारसमेत रहेका उनी नेपाल जेसिसका पूर्व अध्यक्ष पनि हुन्। अध्यक्ष कार्कीले यो चलचित्र नेपाली समाज, परिवार, राजनीति र युवाहरुको वास्तविक कथामा आधारित भएकाले देशव्यापी रूपमा सबै वर्ग र समुदायसम्म पुर्याउनु आवश्यक रहेको बताए।

निर्देशक रमेश कोइरालाले फिल्म भुइँमान्छेको कथा र वर्तमान राजनीतिक परिस्थितिसँग मेल खाने भएकाले हरेक नागरिकले हेर्नुपर्ने धारणा व्यक्त गरे। फिल्ममा मनोरञ्जनका साथै देशप्रेम र माटोप्रति सन्देश समाहित रहेको उनले दावी गरे।

वरिष्ठ अभिनेता नीर शाह, अभिनेत्री बेनीशा हमाल र अभिनेता नरेन खड्काले फिल्मको मौलिक कथालाई उल्लेख गर्दै दर्शकले मनपराउने विश्वास व्यक्त गरे। फिल्मले दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, संघर्षशील महिला र युवा पुस्ताको चेतना प्रस्तुत गरेको निर्माता कोइरालाले बताए।

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, सरोज खनाल, बिनोद न्यौपाने, रबिन्द्र खड्का, शिसिर बाङ्देल, गीता अधिकारी, जेएन घिमिरे, मानुसी शर्मा, मीरा पण्डित लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका छन्। छायांकन शिव ढकाल, सम्पादन तारा थापा किम्भे, द्वन्द्व निर्देशन एनबी महर्जन, संगीत अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा, मनोज चौलागाई, र कोरियोग्राफी कमल राई र कविराज गहतराजले गरेका छन्। राजधानीमा काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ।