नयाँ वर्षमा पूजाको ‘रत्यौंली’ फिल्म घोषणा, विजयसँग जोडी बाधिने

...

काठमाडौँ । नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नयाँ फिल्म रत्यौंली निर्माण घोषणा गरिएको छ । फिल्मका मुख्य कलाकार पनि सार्वजनिक गरिएको छ । यो फिल्म नायिका पूजा शर्माले बनाउँदै छिन् । उनी यो फिल्मको मुख्य अभिनेत्री समेत हुन् । यस्तै पूजासँगै अभिनेता विजय बरालको जोडी बाधिने भएको छ । निर्माण टिमले पूजा र विजयलाई पोस्टरमा देखाउँदै फिल्मको घोषणा गरेको हो ।

यो नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माण हुने तयारीमा छ । फिल्ममा पूजा र विजयले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।
मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् ।

१ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् । उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् । ३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।
सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ ।
फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।