सिनेमा सम्वादका लागी ल्वाङ गाउँमा पुगे सेलिब्रेटी

...

काठमाडौँ । सिनेमाका विविध बिषयमा सम्वाद गर्नका लागी सेलिब्रेटीहरु कास्कीको पर्यटकीय गाउँ ल्वाङमा पुगेका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा प्रत्येक बर्ष हुँदै आएको ‘सिनेमा सम्वाद’को चौथो संस्करणका लागी चलचित्रसँग सम्बन्धित सेलिब्रेटीको साथमा कन्टेन्ट क्रिएटर पुगेका छन् । कार्यक्रममा आज शुक्रबार र भोली शनिबार दुईदिन चल्नेछ ।

ल्वाङमा अभिनेता निखिल उप्रेती, अभिनेत्री बेनिशा हमाल, सनिशा भट्टराई, कन्टेन्ट क्रिएटर ईष्टु कार्की लगायतका सेलिब्रेटी दिउँसो १ बजे पुगे । ल्वाङमा पुग्नासाथ त्यहास्थित आमा समुहले स्वागत गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालका अनुसार आज सम्वाद बाहेकका अन्य कार्यक्रम हुने र भोली (शनिबार) बिभिन्न बिषयमा सम्वाद सेसन चल्नेछ । बाँकी सेलिब्रेटी शािनबार बिहान ल्वाङ गाउँ पुग्नेछन् ।

film journaliast association nepal

नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गरिने बस्यालले बताए । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला पनि भब्य रुपमा सम्पन्न गरिने बताइयो ।

यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुँदैछ । ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्। ‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन् ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।

‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।

film journaliast association nepal

कार्यक्रममा आज साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन् । आयोजकले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरेको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिव गोपिकृष्ण चापागाईंले संघले चलचित्र पत्रकार, पत्रकारिता र सिनेमासँग जोडिएका बिबिध कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि केन्द्रसँगै बिभिन्न शाखाले कार्यक्रम गर्ने तयारी गरेको बताए । उनका अनुसार संघका १४ वटै शाखाले आगामी जेठ ७ मा बार्षिकोत्सवको अवसरमा थुप्रै कार्यक्रमको आयोजना गर्दैछन् ।