‘टनेल २६’ को रिलिज स्थगित, अर्को मितीमा अन्य भाषामा पनि विश्वव्यापी प्रदर्शन गरिने

...

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ गते (९ अक्टोबर)बाट हुने भनिएको रिलिज तत्कालका लागि स्थगित गरिएको छ।
नेपाल र भुटानमा रिलिजको तयारीमा रहेको चलचित्रको ग्राण्ड प्रिमियरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि निर्माण टिमले चलचित्रलाई दुई देशमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

निर्माण टिमका अनुसार अब चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गरिनेछ। यसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जनाइएको छ।

‘टनेल २६’ को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स, रोलिङ इमेज पिक्चर्स लगायतको सहकार्य रहेको छ। डोर्जिस प्रोडक्सनको तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन्। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक तथा क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन्। साथै चलचित्रको निर्माणमा सिजी ग्रुपका निर्वाण चौधरी पनि जोडिएका छन् ।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन्। चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी। तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङको रहेको छ। निर्माण डिजाइन कृष्ण शर्माको रहेको चलचित्रमा पेमा लामोले निर्माण व्यवस्थापन तथा ब्लु छेरिङ दोर्जीले मेकअप तथा कस्ट्युमको जिम्मेवारी सम्हालेका छन्।

साथै, चलचित्रको संगीत टेरड्साक जानपान तथा ध्वनि करण थामावोङको रहेको छ। चलचित्रको व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो तथा सन्तोष कुमार कार्की पनि जोडिएका छन्। निर्माण टिमले चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेकोमा दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूप्रति क्षमायाचना गर्दै चलचित्रप्रति देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गरेको छ।

निर्माण टिमले अब ‘टनेल २६’ लाई अझ व्यापक दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वव्यापी प्रदर्शनको तयारी अघि बढाएको जनाएको छ।