‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला, विजेताले अमेरिका र म्यानमारमा नेपालको प्रतिनिधित्व गर्ने

...

काठमाडौं । नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगितामिसेस नेपाल वर्ल्ड २०२६का लागि आवेदन खुला गरिएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरस्थित होटल द स्क्वायरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंमा हुनेछ भने ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना गरिनेछ। प्रतियोगितामार्फत नेपाली विवाहित महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा सामाजिक योगदान राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने जनाइएको छ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त भट्टले मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता नभई महिला सशक्तीकरण, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिको अभियान भएको बताए। अडिसनबाट छनोट भएका प्रतियोगीलाई करिब ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, फिटनेस, र्याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइनेछ।

प्रतियोगितामा न्यूनतम एसईई, एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले आवेदन दिन सक्नेछन्। आवेदन रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत वा आवेदन फाराम भरेर गर्न सकिने जनाइएको छ।

यस वर्षको प्रतियोगिताबाट मिसेस नेपाल वर्ल्ड २०२६, मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६ तथा पहिलो पटक मिसेस नेपाल कोसमो २०२६ समेत चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने मिसेस नेपाल कोसमो २०२६ की विजेताले म्यानमारमा आयोजना हुने मिसेस कोस्मोमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

आयोजकले विगतका संस्करणहरूमा नेपाली प्रतियोगीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यसपटक पनि नेपाली महिलाको क्षमता, नेतृत्व र नेपाली संस्कृतिलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।